नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा टस भए पनि अहिले छिटपुट वर्षा भइरहेको छ। वर्षाकै बीच अम्पायरले छाता ओढेर टस गराएका थिए।
वर्षाका कारण मैदानको मुख्य पिचलाई मात्र त्रिपालले छोपिएको छ भने आउटफिल्ड खुला रहेको छ। टसपछि दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन्।
वर्षाका कारण खेल सञ्चालनमा असर पर्न सक्ने देखिएकाले खेल निर्धारित समयमा सुरु हुने वा नहुने भन्ने विषय मौसमको अवस्थामाथि निर्भर रहनेछ।






