मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

डेभिड मिलर नेपाल आइपुगे, शुक्रबार कर्णालीका लागि खेल्ने

meronepaltv
meronepaltv
1 दिन अगाडि
72
0
डेभिड मिलर नेपाल आइपुगे, शुक्रबार कर्णालीका लागि खेल्ने
सारांश

कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। बुधबार बिहान तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) ख...

कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। बुधबार बिहान तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का प्रतिनिधिले स्वागत गरेका थिए।

३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकासँगै विश्वका चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो छाप छाडेका छन्। उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगिता खेलेका छन्।

आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएल उपाधि जित्दा मिलर टोलीका महत्वपूर्ण खेलाडी थिए।

कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने बताएका छन्।

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। उनले आफ्नो करियरका दुई टी–२० अन्तर्राष्ट्रिय शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए।

समग्र टी–२० क्रिकेटमा मिलरले ५८४ खेल खेल्दै १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाएका छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमै शतक प्रहार गरेका मिलरले आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक बनाएका थिए।

कात्तिक ९ देखि सुरु भएको एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलेको छ। टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रो खेलमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने काठमान्डु गोर्खाजसँग ४ विकेटले हारेको थियो।

कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। उक्त खेलमा डेभिड मिलर सहभागी हुने जनाइएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार