काठमाडौं । काठमाडौं गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) को यस सिजनमा खेल्न नेपाल नआउने भएका छन्। काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत भरत यस सिजनमा टोलीसँग नजोडिने जानकारी दिएको हो।
गोर्खाजले फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण के.एस. भरत यस सिजनमा हामीसँग जोडिने छैनन्। हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं।’
३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्। टी–२० क्रिकेटमा ९१ खेल खेलेका भरतले १ हजार ८ सयभन्दा बढी रन बनाएका छन्।
विकेटकिपिङसँगै मध्यक्रममा ब्याटिङ गर्न सक्ने भरत सन् २०२४ को आईपीएल उपाधि विजेता कोलकाता नाइट राइडर्स टोलीका सदस्यसमेत थिए।
काठमाडौं गोर्खाजले गत भदौको पहिलो साता एनपीएलको तेस्रो सिजनका लागि भरतलाई अनुबन्ध गरेको जानकारी दिएको थियो।






