नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्नेछन्।
दुई खेलमा दुवै जित निकालेको कर्णाली अंकतालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमाडौं भने अंकतालिकाको पुछारमा रहेको छ। कर्णालीले प्रतियोगितामा तेस्रो र काठमाडौंले दोस्रो खेल खेल्न लागेका हुन्।
आजको खेलमा काठमाडौंका तर्फबाट अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर मैदानमा उत्रिनेछन्। कर्णालीले बंगलादेशका युवा ब्याटर जिशन अलामलाई पनि खेलाउने तयारी गरेको छ।
आजको दोस्रो खेल साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ। तीन खेलमा एक जित निकालेको सुदूरपश्चिमले चौथो खेल खेल्दैछ।
एक खेल खेलेर जित हासिल गरेको चितवनले वर्षाका कारण खेल रद्द भएपछि लुम्बिनीसँग अंक बाँडेको थियो। चितवन आज प्रतियोगिताको तेस्रो खेल खेल्न लागेको हो।






