रासिद खान र कप्तान करण केसीको उत्कृष्ट ब्याटिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ। सोमबारको पहिलो खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डुले जितसँगै दुई खेलबाट २ अंक जोडेको छ। लगातार दुई जित निकालेको कर्णालीको भने यो पहिलो हार हो।
काठमान्डुका लागि रासिद खानले ३४ बलमा ३ चौका र २ छक्कासहित ५० रन बनाए। कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रनको योगदान गरे। रासिदले आदिल आलम र करणसँग महत्वपूर्ण अर्धशतकीय साझेदारी गर्दै टोलीको जितको आधार तयार पारे।
डेभिड वार्नरले एनपीएलमा डेब्यु गर्दै काठमान्डुका लागि ओपनिङ गरेका थिए। उनले १० बलमा ३ चौकासहित १६ रन बनाए। स्मित पटेल ९ रनमा आउट भएपछि काठमान्डुले २८ रनमै दुई विकेट गुमाएको थियो। त्यसपछि रासिद र आदिलले तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरे। आदिलले २० तथा भीम शार्कीले ४ रन बनाए।
रासिद र करणले २६ बलमै ५५ रनको साझेदारी गरे। १७औं ओभरमा अर्धशतक पूरा गरेलगत्तै रासिद आउट भए। करण पनि १८औं ओभरमा आउट हुँदा काठमान्डुलाई १२ बलमा २१ रन आवश्यक थियो। जहानदान खानले १९औं ओभरमा पवन सर्राफलाई लगातार दुई छक्का प्रहार गर्दै खेल काठमान्डुको पक्षमा ल्याए। अन्तिम ओभरमा जहानदान र सन्तोष यादवले रन जोड्दै जित सुनिश्चित गरे। जहानदान १० बलमा १ चौका र २ छक्कासहित २२ रनमा अविजित रहे।
कर्णालीका लागि सोमपाल कामी र हुसेन तलतले २–२ विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका ओपनर अरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाए। हुसेन तलतले ३० बलमा १ चौका र २ छक्कासहित ४० रन जोडे। पवन सर्राफ ३० र गुल्सन झा २० रनमा अविजित रहे।
बंगलादेशका जिशान आलमले कर्णालीका लागि ओपनिङ गर्दै एनपीएलमा डेब्यु गरे। आइतबार नेपाल आइपुगेका जिशान ७ रनमा आउट भए। अरिफुल र मार्क वाटले दोस्रो विकेटका लागि ४६ रन जोडे। त्यसपछि १२ रनको अन्तरमा अरिफुल, दीपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८–४ को अवस्थामा पुगेको थियो।
पवन सर्राफ र हुसेन तलतले पाँचौं विकेटका लागि ६५ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाले। तलत १७औं ओभरको अन्तिम बलमा हिट विकेट भए। त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे।
काठमान्डुका लागि करण केसीले २ विकेट लिए भने शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए।






