मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

पूजापाठमा प्रयोग हुने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री गर्न नपाइने

M
Mero Nepal TV
1 घण्टा अगाडि
120
3
पूजापाठमा प्रयोग हुने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री गर्न नपाइने
सारांश

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वल...

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन, भण्डारण तथा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाएको छ।

विभागले सार्वजनिक गरेको सूचनाअनुसार बजार अनुगमन तथा उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा केही खाद्य व्यवसायी तथा उत्पादन इकाइले वनस्पति घिउ, बेकरी सर्टनिङ, परिष्कृत घिउ तथा तेलमा विभिन्न रासायनिक पदार्थ मिसाएर पूजा तथा दीप प्रज्वलनमा प्रयोग हुने चिल्लो पदार्थ उत्पादन र बिक्री गर्दै आएको पाइएको छ।

सूचनामा यस्ता पदार्थको स्वरूप, रङ, गन्ध, प्याकेजिङ तथा प्रस्तुतीकरण खाद्य पदार्थसँग मिल्दोजुल्दो हुँदा उपभोक्ता झुक्किएर खानामा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ।

‘खानाको लागि होइन’ स्पष्ट लेख्नुपर्ने

विभागले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि उत्पादन गरिने चिल्लो पदार्थको प्याकेट वा लेबलमा ‘खानाको लागि होइन’ भन्ने वाक्यांश स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ। उक्त चेतावनी कालो रङको ‘X’ चिह्नसहित ठूलो अक्षरमा देखिने गरी राख्नुपर्ने सूचनामा उल्लेख छ।

त्यस्ता उत्पादनको लेबलमा घिउ, बेकरी सर्टनिङ वा वनस्पति घिउजस्ता शब्द प्रयोग गर्न नपाइने पनि विभागले स्पष्ट पारेको छ।

खाद्य पदार्थका रूपमा बिक्री गर्न प्रतिबन्ध

नेपाल सरकारले खाद्य प्रयोजनका लागि तोकेको घिउ, वनस्पति घिउ तथा बेकरी सर्टनिङसम्बन्धी मापदण्डअनुसार पूजा तथा दीप प्रज्वलनका लागि तयार गरिएका चिल्लो पदार्थलाई खाद्य घिउ वा बेकरी सर्टनिङका रूपमा उत्पादन, भण्डारण तथा बिक्री–वितरण गर्न प्रतिबन्ध लगाइएको विभागको सूचनामा उल्लेख छ।

त्यस्तै, खाद्य घिउ, वनस्पति घिउ वा बेकरी सर्टनिङका रूपमा बिक्री गरिने उत्पादनमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक लेबल विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाइएको छ।

नियम उल्लङ्घन गरे कारबाही हुने

विभागका अनुसार उक्त व्यवस्थाले खाद्य तथा अखाद्य उत्पादन मिसावट हुने, गलत लेबल लगाइने र अखाद्य पदार्थ खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने सम्भावना रोक्न मद्दत गर्नेछ।

सूचनामा उल्लेखित निर्देशनविपरीत कार्य गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ।

विभागले उपभोक्तालाई पूजा तथा दीप प्रज्वलनका लागि प्रयोग हुने चिल्लो पदार्थ खरिद गर्दा त्यसको लेबल र प्रयोगसम्बन्धी चेतावनी ध्यानपूर्वक हेर्न आग्रह गरेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार