म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङबाट प्रभावित घरधनीलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढाएको छ ।
आयोजनाको सुरुङ निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा उत्पन्न कम्पनका कारण घर भत्किएका तथा चर्किएका स्थानीयवासीलाई क्षतिपूर्ति उपलब्ध गराउन लागिएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झीको फेदीस्थित बाँधदेखि तिल्केनीचौरको विद्युत् गृह जोड्ने ६ किलोमिटर २७० मिटर लामो सुरुङ निर्माण गर्दा आसपासका बस्ती प्रभावित भएका थिए ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार सुरुङ निर्माणबाट प्रभावित घरधनीलाई आवश्यक कागजातसहित आगामी मङ्सिर ४ गतेभित्र निवेदन पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।
आयोजनाले सुरुङ निर्माणका क्रममा पूर्ण तथा आंशिक क्षति पुगेका घर र अन्य प्रभावित घरधुरीको विवरण सङ्कलन, क्षतिको अभिलेखीकरण तथा मूल्याङ्कनका लागि निवेदन लिन सुरु गरेको जनाएको छ । निवेदन सङ्कलनपछि सरकारी मापदण्ड र निर्धारित प्रक्रिया पूरा गरी नियमसङ्गत रूपमा क्षतिपूर्ति वितरण गरिने केसीले बताए ।
यसअघि आयोजनाको सर्जसाफ्ट, प्रेसर साफ्ट र अडिट नम्बर ३ आसपास कम्पनका कारण बस्न नमिल्ने अवस्थामा पुगेका करिब ३० घरपरिवारलाई अस्थायी टहरा निर्माणका लागि न्यूनतम एक लाख ७५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्म उपलब्ध गराइएको थियो ।
प्रभावित स्थानीय लेखनाथ शर्माले आयोजना, जिल्ला प्रशासन र गाउँपालिकाले जिम्मेवारीबाट पन्छिन खोज्दा क्षतिपूर्ति प्राप्त गर्न ढिलाइ भएको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय, गाउँपालिका र आयोजनाका प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरी सुरुङ क्षेत्र आसपासका ३५० भन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक विवरण तयार पारेको थियो ।
रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खीमबहादुर शाहीले उक्त प्रतिवेदनमा सहभागी निकायका जिम्मेवार व्यक्तिहरूले अपनत्व नलिँदा प्रभावितले क्षतिपूर्ति पाउन ढिलाइ भएको बताए ।
भौतिक संरचना निर्माण सम्पन्न भएको राहुघाट जलविद्युत् आयोजनाले गत असोज पहिलो सातादेखि परीक्षण उत्पादन सुरु गरेको छ । आयोजना भारतीय आयात–निर्यात बैंक (एक्जिम बैंक) को ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।






