मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

काठमाडौं महानगरको आग्रह : प्लास्टिकजन्य फोहर नबाल्नुस्, वायु प्रदूषण बढ्ने जोखिम

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
51
0
 काठमाडौं महानगरको आग्रह : प्लास्टिकजन्य फोहर नबाल्नुस्, वायु प्रदूषण बढ्ने जोखिम
सारांश

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने स्वास्थ्य जोखिम बढ्ने भन्दै प्लास्टिकजन्य फोहरमैला खुला रूपमा नबाल्न नागरिकल...

काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने स्वास्थ्य जोखिम बढ्ने भन्दै प्लास्टिकजन्य फोहरमैला खुला रूपमा नबाल्न नागरिकलाई आग्रह गरेको छ ।

महानगरपालिकाको वातावरण विभागले सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यबाट उत्पन्न धुलो, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँलाई वायु प्रदूषणका प्रमुख कारणका रूपमा औंल्याएको छ ।

वातावरण विभागका प्रमुख सरिता राईले प्रदूषण नियन्त्रणका लागि मापदण्डविपरीतका गतिविधि नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन् । उनका अनुसार खराब वायु प्रदूषणले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोग भएका व्यक्तिलाई बढी जोखिममा पार्ने गरेको छ ।

महानगरले सवारीसाधनलाई प्रचलित प्रदूषण नियन्त्रण मापदण्डअनुसार सञ्चालन गर्न तथा नियमित मर्मतसम्भार गरी धुवाँ उत्सर्जन कम गर्न सुझाव दिएको छ । त्यसैगरी निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा थुपार्न नहुनेमा जोड दिएको छ ।

उद्योग, कलकारखाना तथा अस्पतालले महानगरको प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने महानगरले जनाएको छ । उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

जाडो मौसममा वायुमण्डलमा प्रदूषित कणहरू जम्मा हुने जोखिम बढ्ने भएकाले खुला रूपमा फोहर जलाउने कार्य रोक्नु, सवारीसाधनको धुवाँ नियन्त्रण गर्नु र निर्माण तथा औद्योगिक गतिविधिमा वातावरणीय मापदण्ड पालना गर्नु आवश्यक रहेको महानगरको भनाइ छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार