खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराकी ५९ वर्षीया कृष्णमाया थापाको रेबिज संक्रमणका कारण मृत्यु भएको छ। तीन महिनाअघि बिरालोले खुट्टामा टोकेपछि उनलाई संक्रमण भएको गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले जानकारी दिएका छन्।
कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेमा जाँच गर्दा रेबिजको आशंका भएपछि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल रेफर गरिएको थियो। संक्रमण पुष्टि भएपछि अस्पतालले नोबेल मेडिकल कलेजमा पठाएको थियो। तर उपचार सम्भव नभएको भन्दै भर्ना नगरिएपछि घर फर्काउने क्रममा कात्तिक १८ गते उनको मृत्यु भएको प्रवक्ता बस्नेतले बताए।
घटनापछि बिरामीको सम्पर्कमा आएका २८ स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ। बिरामीको जाँच गरेका स्वास्थ्यकर्मी रमेश यादवले पनि खोप लगाएका छन् भने संक्रमणको जोखिममा रहेका थप १० जनालाई खोप दिन बाँकी छ।
आधारभूत अस्पताल ओख्रेमा दोस्रो डोजका लागि खोप अभाव भएपछि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय थालेको छ। खोप उपलब्ध नभए गाउँपालिकाले आफैँ खरिद गरेर व्यवस्थापन गर्ने अध्यक्ष लोकेन्द्र राईले प्रतिबद्धता जनाएका छन्।






