श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। ३० वर्षीय रथ्नायके ब्याटिङसँगै बलिङमा पनि योगदान दिन सक्ने खेलाडी हुन्।
बायाँहाते ब्याटर रथ्नायके दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै शैलीमा बलिङ गर्न सक्छन्। दुवै हातले बलिङ गर्न सक्ने उनको क्षमताले उनलाई फरक शैलीका बलरका रूपमा चिनाएको छ।
रथ्नायकेले श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ६ विकेट लिएका छन् भने ७७ रन बनाएका छन्। यस क्रममा उनको उच्च स्कोर ६५ रन रहेको छ।
घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन्। उनको उत्कृष्ट बलिङ प्रदर्शन ८ रन खर्चेर ४ विकेट लिनु हो। उनले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन्।
त्यस्तै, प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रथ्नायकेले ३७८ विकेट र १ हजार ९२३ रन बनाएका छन्। लिस्ट ए क्रिकेटमा ९६ खेलबाट १३३ विकेट लिनुका साथै ९५२ रन बनाएका छन्।






