नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४:३० बजेपछि सुरु हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
सुदूरपश्चिमको यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो। पोखरा एभेन्जर्स भने आज प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ।
यसअघि भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले जित निकाल्दै विजयी सुरुआत गरेका छन्। मंगलबार भएको खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो भने कर्णालीले जनकपुर बोल्ट्सलाई हराएको थियो।
अंकतालिकामा लुम्बिनी लायन्स पहिलो, कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा रहेका छन्। आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम वा पोखरा अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने प्रयासमा हुनेछन्।






