प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे ब्रिफिङ लिएपछि प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले देशभर शान्ति–सुरक्षाको व्यवस्था थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नागरिकको सुरक्षा सुनिश्चित गर्न अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।
यस्तै, देशको समग्र सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन पनि प्रधानमन्त्री शाहले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहसँगको भेटमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए ।
सचिवालयका अनुसार सुरक्षा प्रमुखहरूसँगको छलफलमा चाडपर्वका समयमा नागरिकको सुरक्षा तथा मुलुकको समग्र शान्ति–सुरक्षाको व्यवस्थापनका विषयमा समेत ब्रिफिङ लिइएको थियो ।






