तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुन तथा चाँदीका सिक्का बिक्री सुरु गर्न लागेपछि बबरमहलस्थित टक्सार महाशाखा अगाडि खरिदकर्ताको लामो लाइन लागेको छ। राष्ट्र बैंकले आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री गर्ने जनाएको छ। बिक्री आज र भोलि दुई दिनसम्म जारी रहनेछ।
तिहारमा सुन–चाँदीका सिक्का खरिद गरी लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ। सिक्काको शुद्धतामा विश्वास गर्दै उपभोक्ता राष्ट्र बैंकबाटै सिक्का खरिद गर्न पुग्ने गरेका छन्।
गत वर्ष सुन अभावका कारण राष्ट्र बैंकले चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो। यस वर्ष भने वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी सुनको असर्फीसमेत बिक्रीमा राखिएको छ।
राष्ट्र बैंकका अनुसार एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका बढीमा तीनवटा चाँदीका सिक्का खरिद गर्न सक्नेछन्।
सुन–चाँदीको मूल्य बढ्यो
सुनको असर्फी र चाँदीका सिक्का (मेडालियन) को मूल्य सोही दिनको बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले बजार मूल्यमा सिक्का उत्पादनमा लागेको खर्चसमेत जोडेर बिक्री गर्ने जनाएको छ।
सिक्का खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
pc: onlinekhabar
















