मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित

meronepaltv
meronepaltv
6 दिन अगाडि
80
0
 मोइन अलीको अर्धशतकमा जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले दिएको ११...

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको हो।

जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५१ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए। मोइन र सैफले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए।

लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ रन हुँदा तृतराज दासलाई र ३७ रन हुँदा मयन यादवलाई गुमाएको थियो। तृतराजले ५ र मयनले ९ रन बनाए। त्यसपछि मोइन र सैफले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए। काठमाडौंका रिपोन मोन्डलले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमै समेटिएको थियो। काठमाडौंलाई सस्तोमा रोक्न जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमको विकेट लिए।

जनकपुरका सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हरमीत सिंह र ललित राजवंशीले एक–एक विकेट हात पारे।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। काठमाडौंले खेलभर ठूलो साझेदारी बनाउन नसक्दा लगातार विकेट गुमायो।

पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा आज साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार