मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

कमलसिंह ऐरीको घातक बलिङमा चितवनसँग विराटनगर ८ रनले पराजित

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २७
92
0
 कमलसिंह ऐरीको घातक बलिङमा चितवनसँग विराटनगर ८ रनले पराजित
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको ...

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो।

चितवनको जितमा बलर कमलसिंह ऐरी निर्णायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। खेलको १८औँ ओभरमा लगातार दुई विकेट लिएपछि विराटनगर दबाबमा परेको थियो। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले पनि एक–एक विकेट लिए।

विराटनगरलाई अन्तिम १८ बलमा जितका लागि २१ रन आवश्यक थियो। तर कमलसिंह ऐरीले रुपेश सिंह र प्रतिश जिसीलाई लगातार बलमा आउट गरे। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि विराटनगरको जितको सम्भावना कमजोर बन्यो।

विराटनगरका लागि इम्रान शेखले सर्वाधिक ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। लोकेशले १४ बलमा २६ रन बनाए।

वेस्ट इन्डिजका आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाउँदै विराटनगरलाई खेलमा फर्काउने प्रयास गरे। उनले एक चौका र चार छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजसँग रसेलले २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युजले १४ रन बनाए। चरिथ असलंका ८, बसिर अहमद १३, शुभम रञ्जाने १० रनमा आउट भए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। ओपनर डाविड मलानले ५१ बलमा ७० रन बनाउँदै एनपीएल सिजन–३ को पहिलो अर्धशतक पूरा गरेका थिए। उनले पाँच छक्का र पाँच चौका प्रहार गरे।

मलानले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। देवले १२ रन बनाए भने अर्जुन साउद ३ रनमा आउट भए। त्यसपछि कप्तान रवि बोपारा र डान मोस्लीले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरे। बोपारा ३२ र मोस्ली २९ रनमा नटआउट रहे।

आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार