मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
खेलकुद

एनपीएलमा आज जनकपुर र काठमाडौं भिड्दै

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २९
70
0
एनपीएलमा आज जनकपुर र काठमाडौं भिड्दै
सारांश

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान...

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजे सुरु हुने खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछन्।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुर दोस्रो खेलमा पुनरागमन गर्न चाहन्छ। पहिलो खेलमा १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएको थियो। त्यसैले यसपटक टोलीको मुख्य चुनौती ब्याटिङ सुधार्नु हुनेछ।

कप्तान हर्मीत सिंहसँगै मोइन अली, जिमी नीशम र कुसल परेराजस्ता अनुभवी खेलाडी जनकपुरको टोलीमा छन्। पाकिस्तानका खेलाडी उपलब्ध नहुने भएपछि टोलीले परवेज हसन इमोन र सेफ हसनलाई अनुबन्ध गरेको छ। उनीहरू आज खेल्छन् वा खेल्दैनन् भन्ने भने निश्चित छैन।

यता, काठमाडौं गोर्खाजले प्रतियोगितामा पहिलो खेल खेल्दैछ। अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरसहित तीन अस्ट्रेलियन खेलाडी अनुबन्ध गरेको काठमाडौंले वार्नर नेपाल नआइसकेकाले उपलब्ध खेलाडीबाटै टोलीको संयोजन मिलाउनुपर्नेछ।

काठमाडौंको ब्याटिङमा स्मित पटेल र केएस भरतको भूमिका महत्त्वपूर्ण हुन सक्छ। त्यस्तै, करण केसी, राशिद खान र भीम सार्कीजस्ता खेलाडीबाट टोलीले राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ।

हेड टु हेडमा दुवै टोली बराबरीमा छन्। अघिल्ला दुई संस्करणमा भएको भेटमध्ये सन् २०२४ मा जनकपुर पाँच विकेटले विजयी भएको थियो भने सन् २०२५ मा काठमाडौंले पाँच विकेटको जित निकालेको थियो। आजको खेलमा दुवै टोलीसँग एकअर्काविरुद्ध अग्रता लिने अवसर हुनेछ।

जनकपुरका कप्तान हर्मीत सिंह र स्पिनर ललित राजवंशी खेलमा हेर्नलायक खेलाडी हुन्। काठमाडौंका स्मित पटेलको ब्याटिङ र करण केसीको अलराउन्ड प्रदर्शनले पनि खेलको नतिजामा प्रभाव पार्न सक्छ।

आज काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने चिन्ता पनि छ।

खेल विवरण:

खेल: जनकपुर बोल्ट्स विरुद्ध काठमाडौं गोर्खाज
मिति: १२ कात्तिक, बिहीबार
समय: दिउँसो १२:३० बजे
स्थान: त्रिवि क्रिकेट मैदान

साझा गर्नुहोस्:

सम्बन्धित समाचार