स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले सन् २०२६ को महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। यससँगै उनी तीन पटक यो अवार्ड जित्ने खेलाडीको सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्।
३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको क्लब लन्डन सिटी लायनेसमा आबद्ध भएकी थिइन्।
पुटेलासले यसअघि सन् २०२१ र २०२२ मा लगातार महिला बालोन डी’ओर जितेकी थिइन्। बोनमतीले भने सन् २०२३, २०२४ र २०२५ मा यो अवार्ड जितेकी थिइन्। पछिल्ला छ वर्षदेखि महिला बालोन डी’ओर स्पेनका खेलाडीले जित्दै आएका छन्।
सन् २०२२ मा घुँडाको एसीएल चोटका कारण लामो समय मैदानबाहिर रहेकी पुटेलासको यो उपलब्धिलाई विश्व फुटबलको शीर्ष स्तरमा उनको पुनरागमनका रूपमा हेरिएको छ।
अवार्ड ग्रहणपछि पुटेलासले विश्वभरका बालबालिकालाई आफूलाई मन पर्ने खेल खेल्न र आफ्नो क्षमतामा विश्वास गर्न आग्रह गरिन्। फुटबल खेल्नका लागि लिङ्ग, जन्मस्थान वा अरूले के भन्छन् भन्ने कुराले फरक नपर्ने उनको भनाइ थियो।
फिफा वरीयताका शीर्ष ५० देशका अन्तर्राष्ट्रिय पत्रकारहरूको मतका आधारमा पुटेलासले सर्वाधिक मत प्राप्त गरेकी थिइन्। बार्सिलोनाकी स्ट्राइकर एवा पाजोर दोस्रो र म्यानचेस्टर सिटीकी फरवार्ड खदिजा शा तेस्रो स्थानमा रहे।
यसैबीच, पुरुषतर्फ इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन्।






