नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवार ढङ्गले अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गरेका हुन्।
थापाले महाधिवेशनमा समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत पार्टीका तल्लो तहसम्म पुर्याइने जानकारी दिए।
उनले महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन र थप विषय उपलब्ध गराउन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।






