दसैँ मनाउन काठमाडौं उपत्यका छाडेर गाउँ फर्किनेहरूको चहलपहल बढेको छ। नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु र बल्खुलगायतका क्षेत्रमा घर फर्किने यात्रुको भीड देखिन थालेको छ।
बालबालिका र झिटिगुन्टासहित घर फर्किने यात्रुमा दसैँको उल्लास देखिए पनि लामो र सकसपूर्ण यात्राको चिन्ता उत्तिकै छ। कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरतर्फ लागेका छन्। केही यात्रु भने गन्तव्यसम्म पुग्ने सवारीसाधनको खोजीमा छन्।
बसपार्कमा टिकट काट्ने, सवारीसाधन चढ्ने र आफन्तसँग बिदाइ हुनेहरूको भीड बढेको छ। यात्रुको चाप बढेसँगै सडक र मुख्य चोकहरूमा पनि व्यस्तता थपिएको छ। यात्रुले खचाखच भरिएका बसहरू कलंकीलगायतका चोक हुँदै उपत्यकाबाहिर गइरहेका छन्।
यस वर्ष दसैँ कात्तिक ४ गते परेको छ भने फूलपाती असोज ३१ गते मनाइनेछ। फूलपातीसम्म घर पुग्ने तयारीमा रहेका नागरिकको आवागमनसँगै उपत्यकाका बसपार्क र सडकमा चाडपर्वको रौनक बढ्दै गएको छ।
pc: onlinekhabar

















