दसैंअघि लगातार सात कारोबार दिनसम्म बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन घटेको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.३४ अंकले घटेर २६२९ अंकमा झरेको हो।
आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि घटेको छ। यसअघि ४ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ४ अर्ब रुपैयाँको कारोबार भएको छ।
समूहगत कारोबारमा उत्पादन तथा प्रशोधन र व्यापार समूहमा वृद्धि देखिएको छ। उत्पादन तथा प्रशोधन समूह १.०३ प्रतिशत र व्यापार समूह १.११ प्रतिशतले बढेका छन्। सिमेन्ट कम्पनीहरूको सेयर मूल्य बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सुधार आएको हो। व्यापार समूहमा विशाल बजार कम्पनीको मूल्य १.४१ प्रतिशत बढेको छ।
सोमबार बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युत् ५.८१ प्रतिशत, सोनापुर सिमेन्ट ५.०७ प्रतिशत, सगरमाथा जलविद्युत् ४.७२ प्रतिशत र घोराही सिमेन्ट ४.४७ प्रतिशतले बढेका छन्।
यता, चिरख्वा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.९२ प्रतिशतले घटेको छ। महिला लघुवित्तको ७.५७ प्रतिशत, गुराँस लघुवित्तको ५.८१ प्रतिशत, एसियन हाइड्रोपावरको ४.३४ प्रतिशत र अपोलो हाइड्रोपावरको ४.१६ प्रतिशतले मूल्य घटेको छ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, शिवम् सिमेन्ट, माउन्टेन इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी, अपि पावर, सानिमा बैंक र सानिमा मिडिल तमोर रहेका छन्।






