डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ। गत १४ कात्तिकदेखि सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषलाई उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याइएको हो।
सोमबार बिहान साढे ६ बजे उडेको हेलिकप्टरले सुरुमा दुई महिलालाई उद्धार गरेको थियो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। त्यसपछि बाँकी चार पुरुषको उद्धारका लागि हेलिकप्टर पुनः घटनास्थल पुगेको थियो। उनीहरूलाई पनि सकुशल उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्।
जिल्ला प्रशासन कार्यालय डोल्पामा १४ कात्तिकमा पर्यटक हिमपातका कारण फसेको सूचना प्राप्त भएको थियो। उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकप्टर व्यवस्थापनमा आएको समस्याका कारण ढिलाइ भएको थियो।
प्रशासनका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए। डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा उनीहरू नुमला र वाग्ला पास आसपासमा हिमपातमा फसेका थिए।
मौसम प्रतिकूल रहेको र भारी हिमपातको जोखिम भएकाले प्रशासन तथा स्थानीयवासीले हिमाली क्षेत्रमा यात्रा नगर्न सुझाव दिएका थिए। आवश्यक अनुमति नलिई जोखिमपूर्ण मार्गबाट यात्रा गर्दा पर्यटक समस्यामा परेको प्रशासनले जनाएको छ।






