मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
पर्यटन

नेपालका थप ६ हिमाललाई आठ हजार मिटरभन्दा अग्लोको अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव

M
Mero Nepal TV
6 दिन अगाडि
214
1
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरभन्दा अग्लोको अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव
सारांश

काठमाडौँ । नेपालले थप ६ वटा हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक प्रस्ताव प्रस्तु...

काठमाडौँ । नेपालले थप ६ वटा हिमाललाई आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन औपचारिक प्रस्ताव प्रस्तुत गरेको छ। काठमाडौँमा जारी अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को महासभामा नेपालले ती हिमालको भौगोलिक पहिचान, उचाइ र छुट्टाछुट्टै चुचुरा रहेको आधारसहित प्रस्ताव अघि सारेको हो।

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर्वा गेल्जे शेर्पाले महासभाको उद्घाटन सत्रमा छवटै हिमालको विवरण र तिनलाई छुट्टाछुट्टै आठ हजार मिटर अग्ला हिमालका रूपमा मान्यता दिनुपर्ने आधारसहितको अध्ययन प्रतिवेदन प्रस्तुत गरेका छन्। संघले ती हिमालको पहिचान र उचाइ मापनका लागि गठन गरेको अध्ययन टोलीले भौगोलिक अवस्था, छुट्टाछुट्टै चुचुरा र अलग–अलग आरोहण मार्ग रहेको प्रमाण संकलन गरेको अध्यक्ष शेर्पाले जानकारी दिएका छन्।

प्रस्तावमा यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला रहेको उल्लेख छ। हाल नेपालका आठ वटा हिमालले आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय मान्यता पाएका छन्। प्रस्तावित छवटै हिमालले मान्यता पाए नेपालमा त्यस्ता हिमालको संख्या १४ पुग्नेछ भने विश्वभर मान्यताप्राप्त आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्नेछ।

महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रस्ताव स्वीकृत भए नेपाल विश्वका सर्वोच्च हिमालहरूको प्रमुख केन्द्रका रूपमा थप स्थापित हुने बताएका छन्। उनका अनुसार विश्वका २० वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि हुनेछ। यसले पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान, हिमाली अर्थतन्त्र र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने उनको भनाइ छ।

मन्त्री पौडेलले नेपालको प्रस्ताव हिमालको संख्या थप्ने विषयमा मात्र सीमित नभई नेपालको हिमाली भूगोल, प्राकृतिक सम्पदा र पर्वतीय पहिचानलाई वैज्ञानिक अध्ययन तथा तथ्यका आधारमा अन्तर्राष्ट्रिय समुदायसमक्ष स्थापित गर्ने प्रयास भएको उल्लेख गरेका छन्।

काठमाडौँमा जारी दुईदिने यूआईएए महासभामा ४५ देशका ९५ जना प्रतिनिधि सहभागी छन्। यसअघि नेपालमा सन् १९८२ र २०११ मा पनि महासभा आयोजना भएको थियो। नेपालको प्रस्तावमाथि अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा छलफल तथा आवश्यक मूल्याङ्कनपछि मात्रै थप छ हिमाललाई आठ हजार मिटरभन्दा अग्लो हिमालको मान्यता दिने विषयमा निर्णय हुनेछ। प्रस्ताव स्वीकृत भए नेपालका नयाँ हिमाली गन्तव्यको पहिचान, पर्वतारोहण र पर्यटन प्रवर्द्धनमा थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार