मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
बिचार

तिहारमा मिठाई किन्दै हुनुहुन्छ ? अब पसलमा पाँच विवरण अनिवार्य

meronepaltv
meronepaltv
1 दिन अगाडि
57
0
 तिहारमा मिठाई किन्दै हुनुहुन्छ ? अब पसलमा पाँच विवरण अनिवार्य
सारांश

झिलिमिली बत्ती, सयपत्री र मखमली फूल तथा देउसी–भैलोको गुञ्जनसँगै नेपालीहरूको दोस्रो ठूलो चाड तिहार भित्रिएको छ। तिहारमा मिठाईको खपत बढ्ने भएक...

झिलिमिली बत्ती, सयपत्री र मखमली फूल तथा देउसी–भैलोको गुञ्जनसँगै नेपालीहरूको दोस्रो ठूलो चाड तिहार भित्रिएको छ। तिहारमा मिठाईको खपत बढ्ने भएकाले बजारमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई पसलको अनुगमन तीव्र बनाएको छ।

विगतका वर्षमा मिठाईमा अखाद्य वस्तु मिसावट, म्याद गुज्रिएका सामग्री प्रयोग, औद्योगिक रङको अत्यधिक प्रयोग तथा सरसफाइमा लापरबाहीका घटना भेटिएका थिए। गत वर्ष काठमाडौं, ललितपुर र भक्तपुरका ५३ ठूला मिठाई पसल अनुगमन गर्दा अधिकांशमा खाद्य स्वच्छतासम्बन्धी कमजोरी देखिएको विभागले जनाएको छ।

यस वर्ष विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ र उपभोक्ता संरक्षण ऐनका आधारमा नयाँ मापदण्ड लागू गरेको छ। कात्तिक ११ देखि लागू भएको व्यवस्थाअनुसार मिठाई पसलले बिक्रीका लागि राखेका मिठाईमा पाँचवटा विवरण अनिवार्य रूपमा उपभोक्ताले देख्ने गरी उल्लेख गर्नुपर्नेछ।

मिठाईको स्पष्ट नाम, प्रयोग भएका मुख्य कच्चापदार्थ, कुन प्रकारको तेल वा घिउ प्रयोग गरिएको हो, उपभोग गर्नुपर्ने मिति तथा प्रतिकिलो मूल्य खुलाउनुपर्ने व्यवस्था गरिएको छ। मिठाई उत्पादनमा प्रयोग भएका कच्चापदार्थ पनि शोकेस वा काउन्टरमा उपभोक्ताले देख्ने गरी राख्नुपर्नेछ।

विभागको अनुगमन टोलीले जुनसुकै बेला मिठाईको नमुना लिएर प्रयोगशालामा परीक्षण गर्न सक्नेछ। उल्लेख गरिएका सामग्री प्रयोग नगरेको, अखाद्य रङ वा बिग्रेको तेल प्रयोग गरेको पाइए कानुनअनुसार कारबाही तथा अनुज्ञापत्र खारेजीसम्मको प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

विभागका पछिल्लो विवरणअनुसार देशभर ४९७ मिठाई पसलमा विशेष अनुगमन गरिएको छ। तीमध्ये ४३३ पसललाई सचेत गराउँदै निर्देशनपत्र दिइएको छ भने २२२ पसलले नयाँ व्यवस्थाअनुसार विवरण राखिसकेका छन्। बाँकी पसल सुधारको क्रममा छन्।

प्रदेशगत रूपमा निर्देशनपत्र पाउने पसलमध्ये कोशीमा ८४, मधेसमा ५६, बागमतीमा ५३, लुम्बिनीमा १७५, गण्डकीमा २६, कर्णालीमा २४ र सुदूरपश्चिममा १५ रहेका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार देशभरका ३० कार्यालयबाट खाद्य निरीक्षक परिचालन गरी स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागसँगको समन्वयमा अनुगमन भइरहेको छ। नियम कार्यान्वयन नगर्ने पसलमाथि यही सातादेखि मुद्दा दायर गर्ने तथा तत्काल जरिबाना गर्ने प्रक्रिया सुरु गरिने उनले बताएका छन्।

चाडपर्व लक्षित समग्र अनुगमनअन्तर्गत १५ देखि ३१ असोजसम्म १ हजार ७५१ स्थानमा अनुगमन गरिएको छ। नियमविपरीत काम गर्ने व्यवसायीबाट १० लाख ७६ हजार रुपैयाँभन्दा बढी जरिबाना असुल गरिएको विभागले जनाएको छ।

तिहारमा पूजा गर्न र बत्ती बाल्न प्रयोग हुने घिउका नाममा अखाद्य बोसो बिक्री भइरहेको विषयमा पनि विभागले कारबाही अघि बढाएको छ। पूजा पसलमा वास्तविक घिउ नभई बोसोजन्य पदार्थ बिक्री भएको पाइएपछि त्यस्ता सामग्री जफत गरी फिर्ता गर्ने वा नष्ट गर्ने काम भइरहेको महानिर्देशक कर्णले बताएका छन्।

विभागले उपभोक्तालाई मिठाई किन्दा त्यसमा प्रयोग भएको तेल वा घिउ, कच्चापदार्थ, मूल्य र उपभोग्य मिति जाँच गर्न आग्रह गरेको छ। विवरण स्पष्ट नराख्ने पसलबाट मिठाई नकिन्न र नियम उल्लङ्घन भएको पाइए सम्बन्धित निकायमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार