युरोपका विभिन्न देशमा नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू शिक्षा क्षेत्रमा बजेट कटौती, आवासको बढ्दो मूल्य, बेरोजगारी र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। युवाहरूमा बढ्दो असन्तुष्टिले युरोपेली सरकारमाथि दबाब बढाएको छ भने पुस्तान्तरणसँगै गहिरिँदै गएको सामाजिक असन्तोष पनि उजागर भएको छ।
स्पेनमा आवास संकट र ज्येष्ठ नागरिकलाई घरबाट हटाइएका घटनादेखि फ्रान्समा शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै विद्यार्थीले गरेका प्रदर्शनसम्मका गतिविधि देखिएका छन्। अल्बानियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग जोडिएको विलासी विकास परियोजनाको विरोधमा विद्यार्थी आन्दोलनरत छन्।
आन्दोलनका मुद्दा फरक भए पनि युवाहरूको साझा चिन्ता अवसरको अभाव हो। अभिभावकको पुस्ताले पाएका अवसर आफूहरूले नपाउने हो कि भन्ने डर, अनिश्चित रोजगारी र बढ्दो जीवनयापन खर्चले युवाहरूलाई सडकमा ल्याएको छ। इटाली र ग्रिसका प्रदर्शनकारीले फ्रान्सको आन्दोलनलाई आफ्ना नारामा जोडिरहेका छन् भने स्पेनबाट सुरु भएको आवाससम्बन्धी प्रदर्शन पोर्चुगलसम्म फैलिएको छ।
फ्रान्सको विद्यार्थी युनियन ‘युनेफ’ की उपाध्यक्ष एलिस डि ब्रिटोका अनुसार युरोपभरिका विद्यार्थी संगठनहरू अनुभव साटासाट गरिरहेका छन्। शिक्षा, विश्वविद्यालय र युवा पुस्तामा लगानी, जीवनयापनको बढ्दो लागत तथा आवासको समस्या उनीहरूको साझा सरोकार बनेको छ।
‘द युरोपियन करेस्पोन्डेन्ट’का प्रधान सम्पादक जुलियस फिन्टेलम्यानका अनुसार यी प्रदर्शनले युरोपेली राजनीतिले नयाँ पुस्ताका अपेक्षाअनुसार परिणाम दिन नसकेको जनभावना प्रतिबिम्बित गर्छन्। एआईको विस्तारले प्रवेश तहका रोजगारी प्रभावित हुनु र जलवायु संकटले पनि युवाहरूको चिन्ता थपेको छ।
शिक्षा र रोजगारीका माग
फ्रान्समा पछिल्ला नौ वर्षदेखि सेप्टेम्बर र अक्टोबरमा विद्यार्थी प्रदर्शन हुँदै आएका छन्। यस वर्ष आन्दोलन थप चर्किएको छ। विद्यार्थीहरूले कक्षाकोठामा विद्यार्थी सङ्ख्या घटाउनुपर्ने, शिक्षकका लागि बजेट बढाउनुपर्ने, जलवायु संकटसँग जुध्ने पूर्वाधारमा लगानी गर्नुपर्ने र युवामाथि हुने प्रहरी हिंसा अन्त्य गर्नुपर्ने माग राखेका छन्।
ग्रिसको एथेन्सस्थित संसद् भवनबाहिर हजारौँ विद्यार्थी र शिक्षकले सार्वजनिक तथा निःशुल्क शिक्षाको मागसहित प्रदर्शन गरेका छन्। इटालीको रोममा उच्च माध्यमिक विद्यालय कब्जा गर्ने विद्यार्थीहरूले पनि आफ्नो वक्तव्यमा फ्रान्सको आन्दोलनलाई उल्लेख गरेका थिए। तर, इटालीका शिक्षामन्त्री जुसेप्पे वाल्दिताराले आफ्नो देशको अवस्था फ्रान्सको भन्दा फरक रहेको बताएका छन्।
आवास संकटले जोड्यो सीमापारिका युवा
आवासको बढ्दो लागत युरोपभरिका युवालाई एकजुट बनाउने अर्को प्रमुख मुद्दा बनेको छ। स्पेनमा सेप्टेम्बरमा चर्किएको आवाससम्बन्धी आन्दोलनले सरकारमाथि राजनीतिक दबाब बढाएको छ। रोममा अध्ययनरत विद्यार्थीहरूले पनि किफायती आवासलाई गुणस्तरीय शिक्षाबाट अलग राख्न नमिल्ने बताएका छन्।
पोर्चुगलको राजधानी लिस्बनमा हजारौँ मानिसले घरभाडा वृद्धिमा सीमा तोक्नुपर्ने र बहालखाली सहज बनाउने नयाँ कानुन खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्। इटालीमा इन्धनको मूल्यवृद्धिबाट असन्तुष्ट ट्रक चालकहरूको नाकाबन्दीले अत्यावश्यक खाद्य वस्तुको आपूर्तिमा समेत असर पारेको छ।
अल्बानिया र सर्बियामा भने भ्रष्टाचारविरोधी अभियान प्रदर्शनको मुख्य मुद्दा बनेको छ। सर्बियामा दुई वर्षदेखि विद्यार्थीको नेतृत्वमा आन्दोलन चलिरहेको छ भने अल्बानियामा प्रदर्शनपछि प्रधानमन्त्री एदी रामाले राजीनामाको माग अस्वीकार गरेका छन्।
जर्मनीमा पनि देखियो जेनजी आन्दोलनको प्रभाव
‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मा लिन्छ’ नामक अभियान समूहको आह्वानमा जर्मनीका ३४ भन्दा बढी सहरमा हजारौँ युवा तथा विद्यार्थी सडकमा उत्रिएका थिए। शनिबार दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन रात परेसँगै केही सहरमा हिंसात्मक बनेको थियो।
फ्र्यांकफर्टमा केही पसलमा तोडफोड र लुटपाट भएको थियो भने बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनकारी तथा प्रहरीबीच झडप भएको थियो। जर्मनीका अधिकारीहरूले आगामी दिनमा यस्ता घटना दोहोरिन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाएका छन्।
प्रहरी अधिकारी तथा प्रहरी संगठनहरूले हिंसात्मक घटनामा मूल जेनजी प्रदर्शनकारीभन्दा मास्क लगाएका बाहिरी वामपन्थी अतिवादी समूहको संलग्नता रहेको बताएका छन्। आयोजक समूह ‘जेनजी रेगेल्ट’ ले पनि हिंसाको निन्दा गर्दै यस्तो गतिविधि आफ्नो आन्दोलनको उद्देश्य नभएको स्पष्ट पारेको छ।
समूहकी प्रवक्ता लिना फ्रिड्रिखका अनुसार आन्दोलनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु हो। उनीहरूले स्वास्थ्य र शिक्षा प्रणालीमा थप सहयोग, अनिवार्य सैन्य सेवाको विरोध तथा आर्थिक भारको न्यायोचित वितरणको माग गरेका छन्।
युरोपका विभिन्न देशमा फरक–फरक मुद्दाबाट सुरु भएका प्रदर्शनले शिक्षा, आवास, रोजगारी, सार्वजनिक सेवा र आर्थिक न्यायका विषयमा नयाँ पुस्ताको साझा असन्तोष उजागर गरेका छन्।





