नेपाली लोकरक ब्यान्ड नेपथ्य भारतको सिक्किम राज्यको राजधानी गान्तोकमा हुने सांगीतिक प्रस्तुतिको तयारीमा जुटेको छ। गान्तोकस्थित पाल्जोर स्टेडियममा अक्टोबर ३१ मा नेपथ्यले प्रस्तुति दिने भएको हो। सिक्किममा ब्यान्डको यो चौथो प्रस्तुति हुनेछ।
कन्सर्टलाई लक्षित गर्दै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले टिकट तथा नेपथ्यको लोगो अंकित टिसर्ट सार्वजनिक गरेका छन्। राजधानीकै मुख्य रंगशालामा आयोजना हुन लागेको कार्यक्रम भव्य बनाउने तयारी भइरहेको आयोजक पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्कका विकेश कायस्थले बताएका छन्।
आयोजकका अनुसार अक्टोबर ३१ को बेलुका ५ बजे स्टेडियमका ढोका खुल्नेछन् भने ७ बजे कन्सर्ट सुरु हुनेछ। कार्यक्रममार्फत हिमाली राज्य सिक्किमको सुन्दरता प्रवर्द्धन गर्नुका साथै युवा पुस्ताको मनोबल बढाउने लक्ष्य राखिएको छ।
नेपथ्यका गायक अमृत गुरुङले सिक्किमका श्रोताले लामो समयदेखि ब्यान्डका गीत मन पराउँदै आएको बताएका छन्। सिक्किमका रेडियोमा नेपथ्यका गीत सुनेर प्रभावित श्रोताबाट आफूले बेलाबेला मायालु सन्देश पाउने गरेको उनले बताए। ब्यान्ड स्थापनालगत्तै कन्सर्टका लागि निम्तो दिने दर्शकमध्ये सिक्किम–दार्जिलिङ क्षेत्रका श्रोता पनि रहेको उनको भनाइ छ।
कन्सर्टमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
सिक्किमको प्रस्तुति सकिएपछि नेपथ्य पूर्वी नेपालको सांगीतिक यात्रामा निस्कनेछ। ब्यान्डले कात्तिक १८ गते इटहरी र कात्तिक २१ गते झापाको चारआलीमा प्रस्तुति दिने कार्यक्रम छ। तिहारपछि देशका चार साना तथा मझौला सहरमा सांगीतिक यात्रा गर्ने र त्यसपछि डिसेम्बरमा अस्ट्रेलिया जाने तयारी रहेको छ।






