मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
मनोरञ्जन

‘नेपथ्य’ ले दुबईको इन्टरनेट सिटीमा आइतबार प्रस्तुति दिने

स
समाचार कक्ष
२०२६ सेप्टेम्बर ३०
9
0
‘नेपथ्य’ ले दुबईको इन्टरनेट सिटीमा आइतबार प्रस्तुति दिने
सारांश
दक्षिण कोरियाको कार्यक्रमपछि नेपाली संगीत ब्यान्ड ‘नेपथ्य’ले संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी असोज १८ गते अर्थात् अक्टोबर ४ मा सांगीतिक प्रस्तुति द...


दक्षिण कोरियाको कार्यक्रमपछि नेपाली संगीत ब्यान्ड ‘नेपथ्य’ले संयुक्त अरब इमिरेट्सको दुबईमा आगामी असोज १८ गते अर्थात् अक्टोबर ४ मा सांगीतिक प्रस्तुति दिने भएको छ।

दुबईको इन्टरनेट सिटीस्थित ‘दी अजेन्डा’ हलमा हुने यो नेपथ्यको चौथो दुबई यात्रा हो। यसअघि ब्यान्डले दुबईका तीनवटै कन्सर्ट ‘अल नासेर लिजर ल्यान्ड’मा आयोजना गरेको थियो। यसपटक भने थप सुविधासहितको नयाँ कन्सर्ट स्थल छनोट गरिएको आयोजकले जनाएको छ।

दुबईमा ठूलो नेपाली समुदायको बसोबास रहेकाले दसैंको पूर्वसन्ध्यामा हुने कन्सर्टलाई नेपाली समुदायको जमघटका रूपमा पनि हेरिएको छ। नेपालयका अनुसार कार्यक्रमलाई व्यवस्थित र स्तरीय बनाउन प्रस्तुति, साउन्ड सिस्टम तथा कार्यक्रमस्थलमा विशेष तयारी गरिएको छ।

नेपथ्यको दुबईसँगको सम्बन्ध पुरानो छ। सन् २०१५ मा भूकम्पपछि आयोजित कार्यक्रमबाट प्राप्त रकम ब्यान्डले भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो। कोभिड महामारीपछि नेपथ्यले सन् २०२२ मा पहिलो विदेश भ्रमण पनि दुबईबाटै गरेको थियो।

भर्खरैको भोटेकोशी बाढीपछि यूएईमा रहेका नेपालीले प्रभावितका लागि सहयोग जुटाएको प्रसंग उल्लेख गर्दै आयोजकले नेपाली समुदायसँगको सम्बन्धलाई समेत कार्यक्रमको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको छ।

मुख्य गायक अमृत गुरुङका अनुसार यसपटक दर्शकलाई सहभागी गराउने र सँगै गाउन–नाच्न मिल्ने गीतलाई प्राथमिकतामा राखिएको छ।

कन्सर्टमा अमृत गुरुङलाई ध्रुव लामा, सुविन शाक्य, नीरज गुरुङ, शान्ति रायमाझी र दिनेशराज रेग्मीले साथ दिनेछन्। कार्यक्रमका लागि अनलाइन टिकट बुकिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार