मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
विजनेस

तिहारको भाइ मसलामा विदेशी भर, तीन महिनामै ३ अर्बभन्दा बढीको ड्राइफ्रुट्स आयात

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २९
84
0
तिहारको भाइ मसलामा विदेशी भर, तीन महिनामै ३ अर्बभन्दा बढीको ड्राइफ्रुट्स आयात
सारांश

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा भाइ मसलाको किनमेल बढ्न थालेको छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने का...

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा भाइ मसलाको किनमेल बढ्न थालेको छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने काजु, बदाम, पिस्ता, ओखर, छोकडा, नरिवल र अन्जिरजस्ता सुक्खा फलफूलको माग बढेसँगै नेपालमा यसको आयात पनि उल्लेख्य देखिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म नेपालमा ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका ड्राइफ्रुट्स आयात भएका छन्। ओखर, काजु र बदाम मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको तथ्यांकमा उल्लेख छ। व्यापारीहरूले तिहारलाई लक्षित गर्दै असोजमा आयात बढाएका छन्।

ओखर आयातमा चीन र चिली प्रमुख स्रोतका रूपमा देखिएका छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बोक्रासहित १४ लाख ५१ हजार किलोभन्दा बढी ओखर आयात भएको छ। यसको खरिद मूल्य ५७ करोड रुपैयाँभन्दा बढी रहेको छ। बोक्रा हटाइएको ओखरको गुदी पनि ७४ हजार किलोभन्दा बढी आयात भएको छ।

त्यस्तै, बदाम (आल्मन्ड) आयातमा अमेरिकाको ठूलो हिस्सा रहेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बोक्रा हटाइएको ५ लाख ६ हजार किलोभन्दा बढी बदाम आयात भएको छ, जसको मूल्य करिब ४७ करोड ६८ लाख रुपैयाँ छ।

काजु आयात पनि उल्लेख्य छ। साउनदेखि असोजसम्म ४ लाख ६९ हजार किलोभन्दा बढी काजु नेपाल भित्रिएको छ। यसको मूल्य करिब ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ। काजुको प्रमुख आपूर्तिकर्तामा भियतनाम र भारत रहेका छन् भने अफ्रिकी राष्ट्र कोटे डी आइभरीबाट पनि काजु आयात हुने गरेको छ।

पछिल्लो समय उपभोक्तामाझ तयारी अवस्थामा पाइने भुटेको र नुनिलो ड्राइफ्रुट्सको मागसमेत बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चीनबाट मात्रै ८७ हजार ६ सय किलोभन्दा बढी रोस्टेड तथा साल्टेड पिस्ता आयात भएको छ। यसको मूल्य करिब ११ करोड ५६ लाख रुपैयाँ रहेको छ। तयारी काजुको आयातमा पनि भियतनाम, भारत र चीन प्रमुख स्रोतका रूपमा देखिएका छन्।

ड्राइफ्रुट्सबाहेक सुपारी र नरिवलको आयात पनि ठूलो परिमाणमा भएको छ। तीन महिनामा ३२ लाख ४० हजार किलोभन्दा बढी सुपारी आयात भएको छ, जसको मूल्य करिब ८४ करोड ७७ लाख रुपैयाँ छ। त्यस्तै, ८ लाख ३६ हजार किलोभन्दा बढी सुक्खा नरिवल आयात भएको छ, जसको मूल्य २१ करोड ५९ लाख रुपैयाँभन्दा बढी छ। अन्जिरको आयात पनि ४५ हजार किलो नाघेको छ।

कृषिप्रधान देश नेपालमा तिहारजस्ता सांस्कृतिक चाडपर्वमा प्रयोग हुने सुक्खा फलफूलको ठूलो हिस्सा विदेशबाट आयात गर्नुपर्ने अवस्था देखिएको छ। हावापानी सुहाउँदो उत्पादनको व्यावसायिक विस्तार गर्न नसक्दा स्वदेशी बजारको माग पूरा गर्न विदेशी उत्पादनमा निर्भर रहनुपरेको छ।

तिहार, भाइटीका, भाइ मसला, ड्राइफ्रुट्स आयात, नेपाल भन्सार विभाग, ओखर आयात, काजु आयात, बदाम आयात, पिस्ता आयात, चीनबाट ओखर, अमेरिकाबाट बदाम, भियतनामबाट काजु, नेपाली बजार, विदेशी उत्पादनमा निर्भरता, तिहार बजार, व्यापार तथा अर्थतन्त्र, Tihar Festival, Bhai Tika, Bhai Masala, Dry Fruits Import, Nepal Imports, Walnut Import, Cashew Nut Import, Almond Import, Pistachio Import, Nepal Economy, Customs Department Nepal

साझा गर्नुहोस्:

सम्बन्धित समाचार