काठमाडौं । समग्र सेयर बजार कमजोर देखिए पनि बैंकिङ समूहको प्रदर्शन भने बलियो बनेको छ । कुल बजार पुँजीकरणमा २५.४४ प्रतिशत हिस्सा ओगट्ने बैंकिङ समूहको सूचक ६ महिनाकै उच्च बिन्दुमा पुगेको छ । सामान्यतया बैंकिङ समूहको उतारचढावले नेप्सेलाई ठूलो प्रभाव पार्ने गरे पनि यसपटक दुवैको गति फरक देखिएको छ ।
शुक्रबार बैंकिङ समूह १.२८ प्रतिशत बढ्दा नेप्से परिसूचक ०.६६ प्रतिशत मात्रै बढेको थियो । सोमबार पनि बैंकिङ समूह १.०१ प्रतिशतले बढ्दा नेप्से ०.१५ प्रतिशत मात्रै उकालो लागेको थियो ।
बैंकिङ समूहको सूचक हाल १ हजार ५३२ अंकमा पुगेको छ, जुन गत चैत १२ यताकै उच्च हो । तर, सोही अवधिमा नेप्से परिसूचक भने २ हजार ९५० अंकबाट घटेर २ हजार ५९५ अंकमा झरेको छ । यस अवधिमा समग्र बजार करिब १२ प्रतिशतले घटेको छ ।
बैंकिङ समूहको सुधारका पछाडि निष्क्रिय कर्जा असुली बढ्ने अपेक्षा, लाभांशप्रतिको आकर्षण, तुलनात्मक रूपमा कम सेयर मूल्य तथा लगानीसम्बन्धी नीतिमा आएको लचिलोपनलाई प्रमुख कारणका रूपमा हेरिएको छ ।
निष्क्रिय कर्जा असुली बढ्ने अपेक्षा
बैंकहरूको वित्तीय विवरणमा उल्लेख्य सुधार नदेखिए पनि विगतमा उठ्न नसकेको साँवा र ब्याज असुल हुने अपेक्षाले लगानीकर्ताको आकर्षण बढाएको छ । निष्क्रिय कर्जा बढ्दा बैंकहरूको वितरणयोग्य नाफामा असर परेको थियो भने कतिपय बैंकले केही वर्षदेखि लाभांशसमेत दिन सकेका थिएनन् ।
लगानीकर्ता सुवासचन्द्र ढुंगानाका अनुसार निष्क्रिय कर्जा अब थप नबढ्ने र पुरानो साँवा तथा ब्याज असुली बढ्ने अपेक्षा लगानीकर्तामा देखिएको छ । यस्तो असुलीले बैंकको नाफा बढाउन र सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता सुधार्न मद्दत गर्न सक्छ ।
यस वर्ष केही बैंकले दसैँअघि नै सेयरधनीलाई लाभांश वितरण गरिसकेका छन् । उपलब्ध विवरणअनुसार नौवटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । केही बैंकले साधारणसभा सम्पन्न गरी नगद लाभांशसमेत सेयरधनीको खातामा पठाइसकेका छन् ।
कुन बैंकले कति लाभांश घोषणा गरे?
उपलब्ध विवरणअनुसार बैंकहरूले घोषणा गरेका लाभांश यस प्रकार छन् ।
बैंक
नगद लाभांश (%)
बोनस सेयर (%)
कुल लाभांश (%)
सिद्धार्थ बैंक
१०
१०
२०
नबिल बैंक
१०.८
५
१५.८
एभरेस्ट बैंक
१०
५
१५
ग्लोबल आईएमई बैंक
६
४
१०
सानिमा बैंक
—
१०
१०
एनएमबी बैंक
—
७
७
माछापुच्छ्रे बैंक
३
३
६
सिटिजन्स बैंक
०.२
३.८
४
कुमारी बैंक
—
२.१०
२.१०
उपलब्ध विवरणमा प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल बैंक, लक्ष्मी सनराइज र नेपाल एसबीआई बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको उल्लेख छ । त्यस्तै, एनआईसी एसिया, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र प्रभु बैंकले यस वर्ष लाभांश दिन सक्ने अवस्थामा नरहेको विवरणमा जनाइएको छ ।
लगानी नीति र जलविद्युत् क्षेत्रको प्रभाव
बैंकिङ समूहको सुधारमा लगानीसम्बन्धी नीतिगत परिवर्तनले पनि भूमिका खेलेको लगानीकर्ता ढुंगानाको भनाइ छ । वाणिज्य बैंकले सेयर तथा डिबेन्चरमा गरेको लगानी ४५ दिनको होल्डिङ अवधिपछि बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि यस्तो अवधि छ महिना थियो ।
बैंकिङ र जलविद्युत् समूहको प्रदर्शनबीच पनि सम्बन्ध देखिने गरेको लगानीकर्ताहरू बताउँछन् । यसपटक रसुवा बाढीपछि केही जलविद्युत् आयोजनामा क्षति पुगेकाले जलविद्युत् क्षेत्रप्रतिको आकर्षण प्रभावित भएको र त्यतातर्फ जाने लगानी बैंकिङ समूहमा मोडिएको हुन सक्ने ढुंगानाको विश्लेषण छ ।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार वाणिज्य बैंकको सेयरमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) तुलनात्मक रूपमा कम रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको छ । पीई रेसियोले कम्पनीको प्रति सेयर आम्दानीको तुलनामा बजार मूल्य कति छ भन्ने देखाउँछ ।
ढकालका अनुसार केही बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ भने नियमित लाभांश दिइरहेका केही बैंकको सेयर करिब २५० देखि ३०० रुपैयाँको आसपासमा उपलब्ध छन् । कम ब्याजदरको अवस्थामा लाभांशबाट प्रतिफल पाउने अपेक्षाले पनि लगानीकर्तालाई बैंकिङ समूहप्रति आकर्षित गरेको उनको भनाइ छ ।
बचतमा बैंकहरूले दिने ब्याजदर करिब २.५ देखि ३ प्रतिशतको बीचमा रहेको र केही बैंकले त्यसको तुलनामा बढी दरमा लाभांश घोषणा गरेकाले सेयरप्रति आकर्षण बढेको विश्लेषण गरिएको छ ।
यद्यपि, बैंकिङ समूहको सूचक बढ्दैमा सबै बैंकको वित्तीय अवस्था समान रूपमा सुध्रिएको वा सबै सेयरमा प्रतिफल सुनिश्चित भएको मान्न सकिँदैन । निष्क्रिय कर्जा असुली, नाफा, लाभांश क्षमता र बजार मूल्यजस्ता पक्षले आगामी प्रदर्शनमा प्रभाव पार्नेछन् ।


