मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

एनपिएल सिजन ३ आजदेखि सुरु, विजेताले पाउनेछ १ करोड ५० लाख रुपैयाँ

meronepaltv
meronepaltv
2 घण्टा अगाडि
44
0
 एनपिएल सिजन ३ आजदेखि सुरु, विजेताले पाउनेछ १ करोड ५० लाख रुपैयाँ
सारांश

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु ह...

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। निर्धारित तालिकाअनुसार खेल अपराह्न ४:३० बजे सुरु हुनेछ। प्रतियोगिताका सबै खेल हिमालय स्पोर्ट्स (हिमालय टिभी) बाट प्रत्यक्ष प्रसारण हुनेछन्।

यस संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन्। लिग चरणपछि इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते फाइनल खेल हुनेछ।

एनपिएलको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। अघिल्लो संस्करणमा विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पाएको थियो।

यसपटक प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र फेबियन एलेन, दक्षिण अफ्रिकाका डेभिड मिलर, बंगलादेशका शाकिब अल हसन तथा इंग्ल्यान्डका मोइन अलीलगायत चर्चित विदेशी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउँदैछन्।

एनपिएलको अर्को प्रमुख आकर्षण पहिलोपटक प्रयोग हुन लागेको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) हो। यस प्रविधिमार्फत एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णय पुनरावलोकन गर्न सकिनेछ। छक्काको दूरी र उचाइ मापनमा समेत प्रविधि प्रयोग गरिनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था छ।

आइसिसीको मान्यता, अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र डीआरएस प्रविधिका कारण यस संस्करणलाई नेपाली फ्रेन्चाइज क्रिकेटका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार