नेपाली कांग्रेसका पुराना नेता मोहम्मद अफताव आलमका छोरा मोहम्मद फिरदोस आलम पार्टीको १५औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनी मधेशी क्लस्टरबाट सहमहामन्त्री बनेका हुन्।
कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।
फिरदोस २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन्। उनी रौतहट–२ बाट २९ हजार ५२८ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए।
उनका पिता मोहम्मद अफताव आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका नेता थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डसम्बन्धी मुद्दाका कारण चर्चामा आएका थिए।
यस प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो। सफाइपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते काठमाडौंमा उपचारका क्रममा ६३ वर्षको उमेरमा निधन भएको थियो।





