मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशमा पनि पुनः सुरु

meronepaltv
meronepaltv
1 घण्टा अगाडि
43
0
 असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत् निर्यात, बंगलादेशमा पनि पुनः सुरु
सारांश

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।...

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भएर निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आवको भदौको तुलनामा निर्यातबाट प्राप्त रकम बढेको हो।

प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्यांकअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। गत वर्षको असोजमा ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो। यस वर्षको असोजमा उक्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ।

त्यस्तै, चालु आवको भदौमा भएको ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको कारोबारको तुलनामा असोजमा ८३ करोड २५ लाख रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ। साउन, भदौ र असोज गरी पहिलो तीन महिनामा नेपालले विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

असोजमा भारतको हरियाणा र बिहार राज्यमा द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार विद्युत् बिक्री गरिएको थियो। बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ। निर्यात गरिएको कुल विद्युत् परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी ऊर्जा विनिमय बजारमार्फत बिक्री भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका छन्।

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्‍याएपछि निर्यात रोकिएको थियो।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति दिएपछि कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात पुनः सुरु भएको प्राधिकरणले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिन्छ।

त्यस्तै, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। यससँगै भारततर्फ निर्यात गर्न स्वीकृत कुल विद्युत् क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार