मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

अर्घाखाँचीको सराय नाच: तरवार, पञ्चेबाजा र ‘वाख्यै भाइ हो!’को गुञ्जनमा दसैँको रौनक

meronepaltv
meronepaltv
2 घण्टा अगाडि
42
0
अर्घाखाँचीको सराय नाच: तरवार, पञ्चेबाजा र ‘वाख्यै भाइ हो!’को गुञ्जनमा दसैँको रौनक
सारांश

दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा परम्परागत सराय नाचको रौनक छाएको छ। हातमा तरवार र खुँडा, पञ्चेबाजाको ताल अनि ‘...

दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा परम्परागत सराय नाचको रौनक छाएको छ। हातमा तरवार र खुँडा, पञ्चेबाजाको ताल अनि ‘वाख्यै भाइ हो!’ भन्ने उत्साहपूर्ण आवाजले सराय नाचलाई जिल्लाको मौलिक सांस्कृतिक पहिचानका रूपमा स्थापित गरेको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराय धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको परम्परा हो। आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसीयालीमा यो नाच नाच्ने चलन रहेको छ। यसमा महिला तथा पुरुषले तरवार, खुँडा र अन्य परम्परागत हतियार प्रदर्शन गर्दै पञ्चेबाजाको तालमा नृत्य गर्छन्। देवीका प्रतीकका रूपमा मानिने आलमसमेत नाचमा सहभागी गराइन्छ।

अर्घा भगवती मन्दिर तथा अर्घा दरबारलाई सराय नाचको उद्गमस्थल मानिन्छ। अर्घाको सराय नाच पञ्चाङ्ग पात्रोमा समेत समावेश रहेको अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताएका छन्। यसलाई नेपालका प्रसिद्ध सांस्कृतिक नाचमध्ये एकका रूपमा लिइन्छ।

दसैँका अवसरमा जिल्लाका विभिन्न स्थानमा निश्चित दिनमा सराय नाच्ने परम्परा छ। एकादशीमा सन्धिखर्क, द्वादशीमा शितगंगा नगरपालिकाको ठाडा र भूमिकास्थान नगरपालिकाको ढिकुरा तथा त्रयोदशीमा सन्धिखर्कको खाँचीकोट र भूमिकास्थानको ताराखसेमा नाच प्रदर्शन गरिन्छ।

त्यसैगरी, चतुर्दशीमा मालारानी गाउँपालिकाको रागामारे र सन्धिखर्कको कुर तथा कोजाग्रत पूर्णिमामा अर्घा भगवती मन्दिर र अर्घा दरबारमा सराय नाच्ने चलन छ। दसैँबाहेक चैतेदसैँमा पनि यो नाच प्रदर्शन गरिन्छ।

सराय नाच धार्मिक आस्था र मनोरञ्जनमा मात्र सीमित छैन। यसले विभिन्न जातजाति र समुदायका मानिसलाई एउटै ठाउँमा भेला गराएर आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध बलियो बनाउन सहयोग गरेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्।

आधुनिकताको प्रभावसँगै परम्परागत कला र संस्कृति ओझेलमा पर्न थालेको अवस्थामा सराय नाचले पुर्खाबाट हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतलाई जीवन्त राखेको छ। यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अर्घाखाँचीको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने देखिन्छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार