बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। प्रारम्भिक मौसम विश्लेषणअनुसार मनाङसहित कम्तीमा २९ जिल्लामा वर्षाको प्रभाव बढी पर्न सक्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार उक्त प्रणालीको प्रभाव तीनदेखि चार दिनसम्म रहन सक्नेछ। कात्तिक १२ देखि १५ गतेसम्म केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना पनि उनले औंल्याएका छन्।
प्रारम्भिक आकलनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको प्रभाव बढी हुन सक्छ। कर्णाली र सुदूरपश्चिममा भने तुलनात्मक रूपमा कम प्रभाव पर्ने अनुमान छ। यद्यपि, मौसम प्रणालीको मार्ग र वर्षाको मात्रा परिवर्तन हुन सक्ने भएकाले जोखिममा पर्ने क्षेत्रको अन्तिम विवरण फरक पर्न सक्छ।
मौसमविद्का अनुसार दक्षिण भारतमा सक्रिय उत्तरपूर्वी मनसुन, बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा वर्षा बढाउन सक्छ। बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र माथिल्लो वायुमण्डलको अवस्थाले पनि वर्षाको तीव्रतामा भूमिका खेल्न सक्ने विश्लेषण गरिएको छ।
मनाङसहित हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। तराईका क्षेत्रमा डुबान तथा पहाडी भूभागमा पहिरोको जोखिम हुन सक्ने भएकाले मौसमको अवस्था निरन्तर अनुगमन गर्नुपर्ने मौसमविद्हरूको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बिहीबारदेखि शनिबारसम्म धान काट्ने तथा भित्र्याउने काम स्थगित गर्न सुझाव दिएका छन्। उनले दशैंपछि कार्यस्थल फर्किने यात्रुलाई शुक्रबार र शनिबार लामो दूरीको यात्रा नगर्न तथा हिमाली क्षेत्रमा पदयात्रामा नजान आग्रह गरेका छन्।
मौसमविद् उज्ज्वल उपाध्यायले पनि कात्तिक ११ देखि १५ गतेसम्म लामो दूरीको यात्रा, बाली काट्ने–भित्र्याउने काम र पदयात्रा नगर्न सुझाव दिएका छन्। विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्गमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्न सक्ने जनाएको छ। तर वर्षाको मात्रा र जोखिममा पर्ने क्षेत्रको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेकाले आधिकारिक मौसम पूर्वानुमान तथा विपद् सम्बन्धी सूचनालाई ध्यान दिन आवश्यक छ।






