- by समाचार कक्ष
- Jul 09, 2025
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावटको क्रम मंगलबार पनि जारी रह्यो। सोमबार सामान्य ३.०७ अंक घटेको नेप्से मंगलबार भने ४२.५८ अंकले ओरालो लाग्दै २७२६.५१ बिन्दुमा बन्द भएको छ।
यद्यपि सूचक घट्दै गए पनि कारोबार रकम भने उच्च स्तरमै कायम रहेको छ। यसले सेयर बजारमा लगानीकर्ताको चासो अझै घटिनसकेको संकेत गरेको छ।
देशभर चुनावी गतिविधि बढ्दै जाँदा बजारमा लगानीकर्ताको सहभागिता बढेको देखिन्छ। यही कारण सोमबार १६ अर्ब रुपैयाँ नाघेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्ब १६ करोड रुपैयाँमा सीमित भएको हो।
मंगलबार कारोबार सुरु हुँदा नेप्से २७६९.०९ अंकमा रहेको थियो। दिनभर उतार–चढाव देखिए पनि अन्ततः बजार उल्लेख्य गिरावटसहित बन्द भयो। नेप्सेका अनुसार मंगलबार कारोबार भएका २२४ कम्पनीको सेयर मूल्य घटेको छ, जसका कारण समग्र बजार सूचक नकारात्मक बनेको हो।
समूहगत परिसूचकतर्फ अधिकांश समूह राताम्य देखिए। बैंकिङ, विकास बैंक, वित्त, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त, होटल, जलविद्युत्, उत्पादनमूलक र व्यापार समूहमा उल्लेख्य गिरावट आएको छ। यद्यपि सामूहिक लगानी कोषको परिसूचकमा भने कुनै परिवर्तन देखिएन।
यस दिन ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर रह्यो। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी ८.५६ प्रतिशतले वृद्धि भएको छ।
नेप्सेका अनुसार मंगलबार ३३३ कम्पनीका ३ करोड २ लाख ६२ हजार कित्ता सेयर १ लाख ४२ हजारभन्दा बढी कारोबारबाट किनबेच हुँदा कुल कारोबार रकम १४ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब २ अर्ब रुपैयाँले कम हो।