- by समाचार कक्ष
- Jul 09, 2025
जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् ।
राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।
त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् ।
बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२१५ प्रतिशत विन्दुले घटेको छ ।
असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५.९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५.६८७ मा कायम भएको छ ।
असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । हिमालयनले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्डले जम्मा ०.०१ प्रतिशत विन्दुले बढाएको छ ।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो ।
बैंकहरुबाट पर्याप्त कर्जा जान नसक्दा नेपाल राष्ट्र बैंकमा प्रणालीको ७ खर्ब रुपैयाँ थन्किएको छ । चालु आर्थिक वर्षको ३१ असारसम्म केन्द्रीय बैंकले वित्तीय प्रणालीको ६ खर्ब ९२ अर्ब ६५ करोड रुपैयाँ अधिक तरलता खिचेर राखेको छ ।
उक्त रकममध्ये ३ खर्ब ७७ अर्ब निक्षेप संकलन उपकरणको हो भने बाँकी ३ खर्ब १५ अर्ब स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । चालु आवमा अर्थतन्त्रका सबै सूचकमा सुधार आउने तर आर्थिक गतिविधि सुस्त हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रह्यो ।
मंगलबारसम्म केन्द्रीय बैंकले खिचेको वित्तीय प्रणालीको तरलता गत आवको तुलनामा दोब्बर हो । गत आव असार अन्तिममा ३ खर्ब ५५ अर्ब रुपैयाँ अधिक तरलता संकलन भएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंक | असारको ब्याजदर % | साउनको ब्याजदर % |
कृषि विकास | ५.४५ | ५.४० |
एभरेस्ट | ६.५५ | ६.२५ |
नेपाल | ५.४५ | ५.४० |
लक्ष्मी सनराइज | ५.७५ | ५.५० |
माछापुच्छ्रे | ६.०० | ६.०० |
एनआईसी एसिया | ६.५५ | ६.२५ |
प्रभु | ६.१० | ४.२५ |
स्टान्डर्ड चार्टर्ड | ६.२५ | ६.२६ |
राष्ट्रिय वाणिज्य | ६.०० | ५.५० |
नबिल | ५.७५ | ५.५० |
ग्लोबल आईएमई | ६.०० | ६.०० |
सिद्धार्थ | ५.७५ | ५.७५ |
प्राइम कमर्सियल | ६.२५ | ६.०० |
कुमारी | ५.७१ | ५.४१ |
सानिमा | ६.३३ | ६.१८ |
हिमालयन | ५.५० | ६.०० |
नेपाल एसबीआई | ५.५० | ५.३५ |
इन्भेस्टमेन्ट मेगा | ५.५० | ५.२५ |
एनएमबी | ६.०० | ६.०० |
सिटिजन्स | ५.६५ | ५.५० |