- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं, ३१ असार — रौतहटका एक युवकले आत्मदाहको प्रयास गरेपछि उनको काठमाडौंस्थित वीर अस्पतालमा सघन उपचार भइरहेको छ।
रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सहनीको जलन विशेषज्ञ डा. अपार लामिछानेको नेतृत्वमा आईसीयूमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार सहनी केही दिनयता मानसिक तनाव र डिप्रेसनबाट पीडित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीको भनाइ छ।
घटनापछि परिवारले उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१.५ प्रतिशत भाग जलेको छ। अस्पतालबाट जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार सहनीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो। उनी गरुडा बजारस्थित झाझ पुलनजिक सानो होटल सञ्चालन गर्दै आएका थिए र सोही व्यवसायबाट आफ्नो परिवार तथा तीन छोराको पालनपोषण गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।