- by समाचार कक्ष
- Mar 06, 2025
काठमाडौं - नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहकार्य भएपछि नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राजनीतिक दबाब बढेको छ।
रुकुम पूर्वको आफ्नो पारम्परिक ‘जनयुद्ध आधार क्षेत्र’मा सहज जीतको खोजीमा पुगेका प्रचण्डलाई अहिले चुनौती थपिएको छ। एमालेले जनार्दन शर्माको पार्टीसँग सहकार्य गर्दै प्रचण्डविरुद्ध मैदानमा सन्दीप पुनलाई समर्थन गरेको हो।
सन्दीप पुन, जनयुद्धका शहिद सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का छोरा हुन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य र सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षसमेत हुन्। विद्यार्थी आन्दोलनबाट उदाएका उनी राजनीतिक रूपमा सक्रिय युवा नेता हुन् र पूर्व माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्षको जिम्मेवारी पनि सम्हालेका छन्।
यसैबीच, प्रचण्डको विपक्षमा कांग्रेसबाट कुसुमदेवी थापा पनि मैदानमा छन्। एमालेको समर्थन पाएका सन्दीप पुनलाई लीलामणि गौतमले पनि सहयोग गर्दैछन्। यस्तो गठबन्धनले रुकुम पूर्वमा चुनावी प्रतिस्पर्धा अझ रोचक बनाएको छ।
रुकुम पूर्वमा पुथा उत्तरगंगा, भूमे र सिस्ने गरी तीन गाउँपालिकामा ३४,७७२ मतदाता छन्। विगतका निर्वाचनमा माओवादी बलियो देखिए पनि एमाले र नयाँ गठबन्धनका कारण परिणाम अप्रत्याशित हुन सक्ने आँकलन गरिएको छ।
प्रचण्डले यो क्षेत्रमा सहज जीत निकालेर प्रधानमन्त्री बन्ने योजना बनाइरहेका छन्, तर एक्लै मैदानमा उत्रिएकाले राजनीतिक चुनौती टार्न सजिलो हुने छैन। प्रचण्डले यसलाई आफ्नो प्रत्यक्ष निर्वाचनको अन्तिम प्रयासका रूपमा पनि हेरिरहेका छन् र रुकुममा उम्मेदवारी दिन पाउँदा गर्व महसुस गरेका छन्।