Monday, March 2, 2026

प्रतिनिधिसभा चुनावमा कांग्रेसको नयाँ दाउ: १०६ नयाँ उम्मेदवार, अनुशासन र डिजिटल प्रचारमा जोड


काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १०६ क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ। पार्टी नेतृत्व परिवर्तनपछि कांग्रेसमा प्रवेश गर्ने नेता–कार्यकर्ताको संख्या उल्लेख्य रूपमा बढेको दाबी गरिएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन औपचारिक निर्देशन दिइएको र अधिकांश स्थानमा फिर्ता भइसकेको जानकारी दिए। उनका अनुसार पार्टी संगठनलाई सातै प्रदेशदेखि जिल्ला, स्थानीय तह र वडा स्तरसम्म निर्वाचन केन्द्रित हुन स्पष्ट निर्देशन दिइसकिएको छ।

निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाउँदै कांग्रेसले आन्तरिक अनुशासन मजबुत बनाउन छुट्टै आन्तरिक आचारसंहिता लागू गरेको जनाएको छ। साथै राष्ट्रिय झण्डाको मर्यादा र सम्मान कायम गर्न नेता तथा कार्यकर्तालाई विशेष निर्देशन दिइएको प्रवक्ता चालिसेले बताए।

यसपटक कांग्रेसले प्रचारप्रसारमा डिजिटल क्याम्पेनिङलाई प्राथमिकता दिने रणनीति लिएको छ। सामाजिक सञ्जाल र डिजिटल माध्यमको प्रभावकारी प्रयोगमार्फत मतदातासँग पहुँच विस्तार गर्ने उद्देश्यका साथ प्रचार अभियान सञ्चालन गरिने पार्टीको योजना छ।

संगठनात्मक एकता, अनुशासन र आधुनिक प्रचार प्रविधिलाई आधार बनाएर निर्वाचनमा जाने रणनीति तय गरिएको भन्दै चालिसेले हालै सम्पन्न विशेष महाधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह सिर्जना गरेको दाबी गरे। उनका अनुसार महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्ता समेत पुनः सक्रिय हुन थालेका छन् भने अन्य दलबाट कांग्रेस प्रवेश गर्ने क्रम पनि जारी छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like