- by समाचार कक्ष
- Mar 06, 2025
विराटनगर, २८ असार — जेनजी अभियन्ता माजिद अन्सारीको पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङअगाडि धर्ना दिएका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार राति करिब साढे ९ बजे जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिँदै आवागमन अवरुद्ध गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कार्यालयका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार प्रदर्शनका कारण प्रहरी कार्यालयको मुख्य गेटबाट हुने आवतजावत प्रभावित भएपछि २६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका सबै जेनजी समूहसँग आबद्ध अभियन्ता रहेको प्रहरीले जनाएको छ।
यसअघि काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुमवासीहरूको अवस्था बुझ्न पुगेका माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूमध्ये सरिश्मा थापा र नहेन्द्र खड्का रिहा भइसकेका छन् भने माजिद अन्सारी अझै प्रहरी नियन्त्रणमै रहेका छन्। प्रहरीको कुटपिटबाट घाइते भएको दाबी गरिएका अन्सारीको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
जेनजी अभियन्ताहरूले अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनलाई बिना कुनै सर्त तत्काल रिहा गर्न माग गर्दै आएका छन्। यद्यपि यस विषयमा प्रहरीले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन।