Monday, March 2, 2026

मध्यपूर्व तनावको प्रभाव: इरान आक्रमणपछि नेपाली बजारमा सुन–चाँदीको भाउ उकालो


काठमाडौं। मध्यपूर्वमा बढ्दो द्वन्द्वको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। इरानमाथि भएको आक्रमणको भोलिपल्ट सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि १५ फागुनमा सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ थियो। दुई दिनको अवधिमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।

त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको भाउमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि १५ फागुनमा यसको मूल्य ५ हजार ७ सय ४० रुपैयाँ थियो। दुई दिनमै चाँदीको मूल्य प्रतितोला २ सय ४५ रुपैयाँले उकालो लागेको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण बहुमूल्य धातुको मूल्यमा चाप परेको हो। शनिबार इजरायलसंयुक्त राज्य अमेरिकाले इरानमा आक्रमण गरेका थिए। त्यसलगत्तै इरानले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी कारबाही गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ।

अन्तर्राष्ट्रिय राजनीतिक अनिश्चितताका बेला लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुने भएकाले सुन–चाँदीको भाउमा वृद्धि देखिएको विश्लेषण गरिएको छ।

Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like

  • by समाचार कक्ष
  • Jul 16, 2025
बैंकहरूले घटाए ब्याजदर