- by समाचार कक्ष
- Mar 06, 2025
१७ फागुन, काभ्रेपलाञ्चोक। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ काभ्रेपलाञ्चोक जिल्लाका लागि अस्थायी मतदाताको सूची टुंगो लगाएको छ।
जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ बमोजिम संकलन गरिएको विवरणका आधारमा जिल्लामा २ हजार ४८१ जना अस्थायी मतदाता कायम भएका छन्।
सरकारी तथा अर्धसरकारी निकायमा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी र ज्येष्ठ नागरिक आश्रममा आश्रित व्यक्तिहरू अस्थायी मतदाताको सूचीमा समावेश गरिएका छन्।
मतदानका दिन खटिएका कर्मचारी र सुरक्षाकर्मीले कार्यरत स्थलमै मतदान गर्न पाउनेछन् भने कैदीबन्दीहरूले जिल्ला कारागार कार्यालय काभ्रेपलाञ्चोकस्थित अस्थायी मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
जिल्लामा कुल ३ लाख २६ हजार ६११ मतदाता रहेका छन्। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १८९ मतदानस्थल र ४०० मतदान केन्द्र निर्धारण गरिएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले ४०० मतदान केन्द्रमध्ये ८८ मतदानस्थललाई संवेदनशील घोषणा गरेको छ। प्रहरी प्रमुख कोमल शाहका अनुसार तीमध्ये २३ मतदान केन्द्र अतिसंवेदनशील श्रेणीमा परेका छन्।
संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा कडा सुरक्षा प्रबन्ध मिलाइने जनाइएको छ। जिल्लामा २ हजार ९० जना निर्वाचन प्रहरी, १ हजार ११९ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी र प्रत्येक मतदानस्थलमा नेपाली सेना परिचालन गरिने तयारी छ।
मतदाता विवरणअनुसार जिल्लाका कुल मतदातामध्ये १ लाख ६७ हजार ४९९ पुरुष, १ लाख ५९ हजार ११० महिला र दुई जना अन्य लिङ्गका मतदाता रहेका छन्।