Monday, March 2, 2026

मत किन्न खोजेको आशंका : मोरङमा कांग्रेस कार्यकर्तासँग साढे ४ लाख बरामद, कारसहित नियन्त्रणमा


विराटनगर । मतदातालाई प्रभावित पार्ने उद्देश्यले नगद वितरण गर्न लागेको आशंकामा प्रहरीले मोरङको रतुवामाई क्षेत्रबाट नेपाली कांग्रेसका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। सोधपुछपछि उनीहरूलाई छाडिएको भए पनि उनीहरूको साथबाट साढे चार लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवा रहेका छन्। प्रहरी स्रोतका अनुसार घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव हुन् भने लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य रहेका छन्।

गयराति करिब साढे ९ बजे रतुवामाई–७ जामवाढी क्षेत्रमा प्रहरीले को.१ च ७३३८ नम्बरको कार रोकेर जाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रुपैयाँ नगदसहित कांग्रेसका पम्प्लेट, ब्यानर र नमूना मतपत्र फेला परेको थियो।

कविद कटवाल मोरङ प्रहरी प्रमुखका अनुसार आवश्यक सोधपुछ तथा जाँचपडतालपछि तीनै जनालाई छाडिएको हो। गाडी भने नियन्त्रणमै राखिएको र यस विषयमा निर्वाचन कार्यालयलाई जानकारी गराइएको उनले बताए।

रतुवामाई क्षेत्र मोरङ–२ निर्वाचन क्षेत्रमा पर्छ। उक्त क्षेत्रमा मिनेन्द्र रिजाल (नेपाली कांग्रेस), दिलीप बगडिया (एमाले) र कृष्णकुमार कार्की (रास्वपा) लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।

घटनापछि स्थानीय राजनीतिक वृत्तमा तरंग पैदा भएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


Super Admin

समाचार कक्ष

Please Login to comment in the post!

you may also like