- by समाचार कक्ष
- Jul 09, 2025
१३ माघ, काठमाडौं - नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ–नयाँ रेकर्ड बनाउने क्रम मंगलबार पनि जारी रह्यो। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार सुनको मूल्य तोलाको ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो।
आइतबारको तुलनामा सोमबार मात्रै सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले उकालो लागेको थियो, जसले पछिल्ला दिनहरूमा सुनको भाउ तीव्र गतिमा बढिरहेको संकेत गरेको छ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। मंगलबार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले बढ्दै ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि सोमबार चाँदीको मूल्य तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो भने आइतबार प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।