- by समाचार कक्ष
- Mar 06, 2025
१३ माघ, काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशबाट निर्वाचन लड्न लागेको विषयमा प्रष्ट पारेका छन्। मंगलबार बिहान सर्लाही-४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै थापाले आफू सुझबुझका साथ मधेश झरेको बताएका छन्।
उनले भने, “यहाँका समस्या शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएका छन्, जसले देशसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ। त्यसैले मधेश आउनु मेरो निर्णय हो, मेरो सुझबुझको कुरा हो। मैले सचेतपूर्वक यहाँको माटोसँग आफुलाई जोडेर आएको हुँ।”
थापाका अनुसार सर्लाहीको पार्टी समितिले पटकपटक उम्मेदवार बन्न बोलाएको थियो। उनले थपे, “यो पटक पनि मलाई यहीँ माया गरेर बोलाउनुभयो। त्यसैले मधेश जाने मेरो इच्छा, र सर्लाही-४ ले मलाई अवसर दिएको कारणले यहाँ आएको हुँ।”
उनले मधेशको मुद्दा बुझ्न, अनुभव गर्न र भविष्यमा त्यसबारे बहस गर्न सहज होस् भनेर भित्रि मधेशका जिल्लाहरू आफ्नो प्राथमिक रोजाइमा परेको बताएका छन्।
थापाले विश्वास व्यक्त गर्दै भने, “अब काठमाडौँमा मधेशको विषयमा बहस भिन्न ढंगले हुनेछ। पहिले मधेशका मुद्दा प्रायः उठ्दैनथे, तर अब मात्र मुद्दा उठ्ने छैन, त्यसलाई सम्बोधन पनि गरिनेछ।”