मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
👤
ट्रेन्डिङ
समाचार

श्रम मन्त्रालयको पहलपछि २४० अस्पताल कर्मचारीले पाए दसैँ बोनस

meronepaltv
meronepaltv
२०२६ अक्टोबर २८
82
0
श्रम मन्त्रालयको पहलपछि २४० अस्पताल कर्मचारीले पाए दसैँ बोनस
सारांश

दसैँको चाडपर्व खर्च नपाएको गुनासोपछि श्रम तथा रोजगार कार्यालय बुटवलको पहलमा रुपन्देहीको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका २४० कर्मचारीले ...

दसैँको चाडपर्व खर्च नपाएको गुनासोपछि श्रम तथा रोजगार कार्यालय बुटवलको पहलमा रुपन्देहीको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका २४० कर्मचारीले दसैँ बोनस पाएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयको सक्रियतामा अस्पताललाई कर्मचारीप्रति जवाफदेही बनाउँदै चाडपर्व खर्च उपलब्ध गराइएको हो।

श्रम मन्त्रालयका अनुसार अस्पतालका श्रमिकले चाडपर्व खर्च नपाएको भन्दै गुनासो गरेपछि श्रम तथा रोजगार कार्यालय बुटवलले असोज ३० गते अस्पताललाई पत्र पठाएर रकम भुक्तानी गर्न निर्देशन दिएको थियो।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने व्यवस्था छ। एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च दिनुपर्ने कानुनी प्रावधान छ।

अस्पतालले असोज २९ गते नै २४० कर्मचारीलाई चाडपर्व खर्चबापत रकम भुक्तानी गरिसकेको जानकारी श्रम कार्यालयलाई दिएको छ। अस्पतालले सेवा सुविधासहित कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको प्रमाणसमेत पेस गरेको मन्त्रालयले जनाएको छ।

भुक्तानी पुष्टि गर्न अस्पतालले बैंकिङ कारोबारका प्रमाणित सूचीहरू पनि श्रम कार्यालयमा बुझाएको छ। गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित अस्पताल प्रशासनले आफ्ना कर्मचारीको हकहित र सुविधाप्रति प्रतिबद्ध रहेको जनाउँदै भुक्तानी प्रक्रिया पूरा गरेको बताएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार