सुर्खेतको गुर्भाकोट नगरपालिका–८, सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीमाथि दाउराको चिर्पट प्रहार गरेका थिए। प्रहारबाट राजीको टाउको र बायाँ खुट्टामा चोट लागेको थियो।
घटनापछि घाइते राजीलाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो।
उपचारकै क्रममा राजीको मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।






