विपक्षी दलहरूले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन माग गरेका छन्। बिचौलिया इनम सापकोटासँग जोडिएका अडियो तथा उनीसँग सम्बन्धित विभिन्न प्रश्नमाथि छानबिन गर्नुपर्ने भन्दै उनीहरूले बैठकको माग गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै बैठक बोलाउन माग गरेका छन्। अन्य विपक्षी दलहरूले पनि अनौपचारिक रूपमा बैठकको माग गरेको बताएका छन्।
शाहीले पत्रमा नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिएको विषयलाई गम्भीर र चिन्ताजनक घटनाका रूपमा उल्लेख गरेका छन्।
राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा छलफल तथा छानबिन गर्न समितिको बैठक तत्काल बोलाउनुपर्ने उनको माग छ। साथै, बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्न पनि उनले अनुरोध गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि समितिको बैठक बोलाउन माग गर्दै पत्र पठाएका छन्।
दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग सम्बन्धित भनिएको अडियो कसरी सार्वजनिक भयो, प्रधानमन्त्री र प्रमुख सल्लाहकार कुमार बेनका सामाजिक सञ्जालका अभिव्यक्तिका आधार के हुन् तथा पत्रकार पक्राउ र रिहाइका घटनाबारे सरकारको जवाफ माग्नुपर्ने बताएका छन्।
उनले गृहमन्त्री र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिमा उपस्थित गराएर सरकारलाई जवाफदेही बनाउनुपर्ने उल्लेख गरेका छन्।
प्रमुख सचेतक दुलालका अनुसार समितिका सभापति हरि ढकालसँग बैठक बोलाउने विषयमा कुराकानी भएको छ। सभापतिले मागलाई सकारात्मक रूपमा लिएको उनले जानकारी दिएका छन्।






