सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच १०औँ द्विपक्षीय समन्वय बैठक सुरु भएको छ। सीमा सुरक्षा तथा व्यवस्थापन प्रभावकारी बनाउने, सीमा अपराध नियन्त्रण गर्ने र दुवै देशका सीमावर्ती सुरक्षा निकायबीच समन्वय तथा सहकार्य बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन्। नेपाली पक्षबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन्।
भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्। बैठकमा भारतको गृह मन्त्रालय, विदेश मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।
दुई दिनसम्म चल्ने बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी, लागुऔषध ओसारपसार, अवैध हातहतियार तथा अन्य सामग्रीको तस्करी रोक्ने विषयमा छलफल हुनेछ। साथै सीमा क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न भइरहेका समन्वयात्मक प्रयासको समीक्षा गरिने सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।
बैठकमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण, मर्मतसम्भार तथा निर्माण र सीमा अपराध नियन्त्रणका विषयलाई पनि प्राथमिकता दिइनेछ। सीमापार फैलिन सक्ने महामारी तथा विपद्को जोखिम न्यूनीकरण, तत्काल सूचना आदानप्रदान र नियमित समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल हुनेछ।
नेपाल–भारत खुला सिमानाको प्रयोग गरी तेस्रो मुलुकका नागरिकको हुन सक्ने अवैध आवागमनलाई नियमन गर्ने, सीमा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउने तथा विपद् पूर्वतयारी र प्रतिकार्यमा संयुक्त सहकार्य सुदृढ गर्ने विषय पनि बैठकको कार्यसूचीमा छन्।
त्यस्तै, सीमा नाकामा यात्रुको सहजताका लागि थप सहायता कक्ष स्थापना गर्ने, सीमावर्ती नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने र दुवै सुरक्षा निकायबीच क्षमता अभिवृद्धि तथा संस्थागत सहयोग बढाउने विषयमा विचारविमर्श हुनेछ।
बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै देशका सुरक्षा निकायबीचको सहकार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।






