काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। समितिको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।
गत असोज २८ गते प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ भएको थियो। नियुक्तिका लागि सिफारिस गरिएका १३ मध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो। साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अस्वीकृत गरिएको थियो।
जापानका लागि प्रस्तावित थापाको जापानको स्थायी आवास अनुमति (पीआर) रहेको भन्दै सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ स्थगित गरिएको थियो। सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए। तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले थप प्रश्न उठाएका थिए।
विषयमा स्पष्ट हुन संसदीय समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण मागेको थियो। परराष्ट्र मन्त्रालयले पनि नेपाली राजदूतावासमार्फत जापान सरकारसँग जानकारी मागेको छ। तर, समितिले पठाएको पत्रको जवाफ हालसम्म प्राप्त नभएको बताइएको छ।
समितिले परराष्ट्र मन्त्रालयको राय लिएर यही कात्तिक १९ गतेभित्र थापाबारे निर्णय गर्ने तयारी गरेको छ। संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २५ अनुसार सम्बन्धित निकायबाट नाम प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी निर्णय सम्बन्धित निकायमा पठाउनुपर्ने व्यवस्था छ। निर्धारित समयभित्र निर्णय हुन नसके प्रस्तावित व्यक्तिको नाम स्वतः अनुमोदन भएको मानिने व्यवस्था छ।
यसअघि समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरु जोशीको नाम अनुमोदन गरिसकेको छ।
त्यस्तै इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलङ्काका लागि डा. मञ्चला कुमारी झाको नाम पनि सर्वसम्मतिले अनुमोदन भएको छ।
राजदूत थापाबारे निर्णय गर्नुपर्ने ४५ दिने समयसीमा यही कात्तिक १९ गते सकिँदैछ। त्यसअघि समितिले उनको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय लिन लागेको हो।






