राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘गाउँपालिका क्यान्डिडेट क्लब’ मा गण्डकी प्रदेशका गाउँपालिका अध्यक्ष पदका लागि हालसम्म १९७ जनाले आवेदन दिएका छन्। पार्टीले भदौ १ गतेदेखि गाउँपालिकामा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि अनलाइन आवेदन खुला गरेको थियो।
जिल्लागत विवरणअनुसार गोरखाबाट सबैभन्दा बढी ४१ जनाले आवेदन दिएका छन्। त्यस्तै, स्याङ्जाबाट ३२, कास्कीबाट ३१, तनहुँ र पर्वतबाट २३–२३, बागलुङबाट १६, नवलपुरबाट १४, लमजुङबाट ११ र म्याग्दीबाट ६ जनाले अध्यक्ष पदमा आकांक्षा देखाएका छन्।
मुस्ताङ र मनाङका गाउँपालिकाबाट भने हालसम्म अध्यक्ष पदका लागि आवेदन परेको छैन। मुस्ताङमा पाँच र मनाङमा चार गाउँपालिका छन्। गण्डकी प्रदेशमा कुल ५८ गाउँपालिका रहेका छन्।
गोरखाका गाउँपालिकामध्ये अजिरकोटबाट नौ, गण्डकीबाट सात, शहीद लखनबाट सात, सिरानचोकबाट सात, बारपाक सुलिकोटबाट पाँच, भिमसेनथापाबाट चार तथा चुमनुब्री र धार्चेबाट एक–एक जनाले आवेदन दिएका छन्।
स्याङ्जामा आँधीखोलाबाट १०, अर्जुनचौपारी र फेदीखोलाबाट ६–६, हरिनासबाट पाँच, कालीगण्डकीबाट तीन र बिरुवाबाट दुई जनाले अध्यक्ष बन्न इच्छा देखाएका छन्। कास्कीमा मादीबाट १२, माछापुच्छ्रेबाट नौ, अन्नपूर्णबाट आठ र रुपाबाट दुई जनाको आवेदन परेको छ।
तनहुँका बन्दीपुर र घिरिङबाट छ–छ, देवघाटबाट चार, म्याग्देबाट चार, आँबुखैरेनीबाट दुई र ऋषिङबाट एक जनाले आवेदन दिएका छन्। पर्वतमा बिहादीबाट सात, मोदीबाट छ, पैयुँबाट पाँच, जलजलाबाट तीन र महाशिलाबाट दुई जनाले आवेदन दिएका छन्।
बागलुङमा काठेखोला र निसीखोलाबाट चार–चार, बडिगाडबाट तीन, बरेङ र तमानखोलाबाट दुई–दुई तथा ताराखोलाबाट एक जनाले आवेदन दिएका छन्। लमजुङमा दूधपोखरीबाट पाँच, मर्स्याङ्दीबाट तीन, दोर्दीबाट दुई र क्व्होलासोथारबाट एक जनाले इच्छा देखाएका छन्।
म्याग्दीमा धवलागिरी, मंगला र रघुगंगाबाट दुई–दुई जनाले आवेदन दिएका छन्। अन्नपूर्ण र मालिका गाउँपालिकाबाट भने हालसम्म आवेदन परेको छैन। नवलपुरमा हुप्सेकोटबाट आठ, बुलिङटारबाट चार र बौदीकालीबाट दुई जनाले आवेदन दिएका छन्।
रास्वपाले असोज २९ गतेदेखि नगरपालिकाका जनप्रतिनिधि बन्न इच्छुक व्यक्तिका लागि पनि आवेदन खुला गरेको छ। गण्डकी प्रदेशका रास्वपा सभापति नवीन त्रिपाठीका अनुसार अध्यक्ष पदको तुलनामा उपाध्यक्ष र सदस्य पदमा आवेदन दिनेहरूको संख्या कम छ। उनका अनुसार आवेदनका लागि समय बाँकी रहेकाले थप आकांक्षीहरू आउने अपेक्षा गरिएको छ।
पार्टीले उम्मेदवारका लागि आवेदन दिने अन्तिम मिति भने हालसम्म तोकेको छैन।






